Monday, May 6, 2013


पतिमाथि घरेलु हिंसा-अदालतद्वारा 'पत्नी' लाई जरिवाना

नेपालगन्ज, वैशाख २३ - घरेलु हिंसा भन्नेबित्तिकै अधिकांशले महिलामाथि हुने हिंसा ठान्छन् । तर त्यस्तो हिंसाको सिकार पुरुष पनि भएका हुन सक्छन् । बाँकेमा त्यस्तै घटना प्रकाशमा आएको छ । जिल्ला अदालतले पत्नीविरुद्ध परेको एक घरेलु हिंसाको मुद्दामा पतिका पक्षमा फैसला सुनाएको छ । दैलेखको नारायण नगरपालिका ९ घर भई नेपालगन्ज ५ बस्दै आएका ३३ वषर्ीय खगेन्द्रबहादुर गौतमले आफ्नी ३० वषर्ीया पत्नी लिलावतीका नाममा दायर गरेको मुद्दाको फैसला खगेन्द्रका पक्षमा आएको हो । उनले श्रीमतीले कुटपिट गरेको र बाहिरबाट गुन्डा बोलाएर ज्यान लिने प्रयास गरेको भन्दै ०६८ मंसिरमा जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।

जिल्ला अदालतका न्यायाधीश कृष्णकमल अधिकारीको इजलासले प्रतिवादी लीलावतीलाई ३ हजार जरिवाना फैसला सुनाएको छ । घरेलु हिंसाका अधिकांश मुद्दा महिलाले दायर गर्ने गरेका छन् । तर बाँके जिल्ला अदालतमा पहिलो पटक पुरुषले महिलाविरुद्ध घरेलु हिंसाको मुद्दा दर्ता गरेका थिए । पत्नी लीलावतीले कुटपिट गर्ने गरेको, बाहिरबाट भाडामा गुन्डा बोलाएर मार्छु भन्ने धम्की दिएको र ०६८ मंसिर ११ गते राति ज्यान मार्ने उद्देश्यले प्रेसर कुकरले टाउकोमा हिर्काएको आरोप लगाउँदै खगेन्द्रले घरेलु हिंसासम्बन्धी ऐन ०६६ को दफा २ -खण्ड क, ख र ग) बमोजिमको कसुर गरेकाले १३ -३) अनुसारको सजाय माग गर्दै मुद्दा हालेका थिए । १३ -३) मा ६ महिनासम्म कैद हुन सक्ने व्यवस्था छ । लिलावतीलाई ३ हजार जरिवाना भएको हो ।

अधिवक्ता वासुदेव ज्ञवालीले महिलामात्र होइन, पुरुष पनि विभिन्न किसिमका घरेलु हिंसाले पीडित हुने गरेको बताए । 'तर पुरुष अभिमानका कारण उनीहरू खुलेर समाजको चुनौती सामना गर्न सक्दैनन्,' कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र -सेर्लड) का तर्फबाट घरेलु हिंसाका क्षेत्रमा काम गरिरहेका ज्ञवालीले भने, 'घरभित्र हुने हिंसामा परिवारका जुनसुकै सदस्य पनि पर्न सक्छन् तर नेपाली समाजमा त्यस्ता अधिकांश घटना महिलामाथि बढी हुने गरेकाले महिलासँग जोडेर हेर्ने चलन छ ।'

लैंगिक तथा घरेलु हिंसाविरुद्ध क्रियाशील महिलाले पनि परिवारभित्र पुरुषमाथि समेत हिंसा बढिरहेको बताए । बाँकेको सीतापुर तथा टिटिहिरियालाई लैंगिकतामा आधारित हिंसा मुक्त गाविस घोषणा गर्ने कार्यक्रम सञ्चालन गरिरहेकी साथी संस्थाकी कल्पना आचार्यले भनिन्, 'ती गाविसमा १० जना जति पुरुष महिला हिंसाको सिकार भएको देखियो । त्यसैले महिला/पुरुष दुवैका लागि संयुक्त कार्यक्रम सञ्चालन गरेमा समाजको वास्तविक तस्बिर बाहिर आउँछ ।'

सरकारको लैंगिक हिंसाविरुद्धको पाँच वर्षे रणनीति तथा कार्ययोजना कार्यान्वयन सहयोग कार्यक्रमकी संयोजक कल्पना भट्टराईले लैंगिक हिंसा मुक्त समाज निर्माण गर्न महिलाबाट मात्र सम्भव नभएकाले युवा र पुरुषलाई समेत परिचालन गरेर कार्यक्रम सञ्चालन गरिरहेको बताइन् । 'महिलामात्र होइन पुरुषसमेत प्रताडित भएको फेला परेपछि यस्तो कार्यक्रम अघि सारिएको हो,' उनले भनिन् ।

No comments:

Post a Comment