Tuesday, May 21, 2013


पुरुष जातिको अन्त्य…? जिगोलो 

संसारलाई नै ध्यानाकर्षण गराउँदै एउटा अत्यासलाग्दो तथ्य सार्वजनिक गरिन् अष्ट्रेलियाली वैज्ञानिक, रिसर्च स्कुल अफ बायोलोजीका प्राध्यापक डा. जेनी ग्रेभ्सले, ‘तीनसय लाख वर्षअघि पुरुषमा हुने वाई क्रोमोजोममा १४ सय जीन रहेकोमा क्रमशः घट्दै आएर अहिले ४५ वटा मात्रै बाँकी रहेको छ र यही क्रमले घट्दै जाँदा अबको ५० लाख वर्षपछि संसारबाट पुरुष जातिको अन्त्य हुनेछ । महिलाको ९ह्० क्रोमोजोम पुरुषको वाई क्रोमोजोमभन्दा एक हजार गुणा बढी स्वस्थ हुन्छ र त्यो पुरुषको वाई क्रोमोजोम महिलाको एक्स क्रोमोजोमको सम्पर्कमा जाने बित्तिकै थप कमजोर भएर टुक्रिँदै जान्छ । त्यसैगरी महिलामा एक्स क्रोमोजोम जोडी हुने हुने भएकाले एकले अर्कोलाई भरथेग गर्छ तर पुरुषमा वाई क्रोमोजोम विजोडी मात्रै हुन्छ र भरथेग नपाई अझ टुक्रिएर जान्छ ।’
लेखकः स्वागत नेपाल
यो तथ्य संसारभरका वैज्ञानिकहरुका लागि मात्र नभएर सबै मान्छेहरुका लागि डरलाग्दो बन्यो । तर, धेरैले ५० लाख वर्षपछिको कुरा त रहेछ नि भनेर खासै ध्यान दिएनन् । मलाई भने पुरुषहरुको हालसम्मको ’अहम्‘को कारण रहेको वाई क्रोमोजोमकै त्यो निरिहताले चिन्तित बनायो । र, पुरुष जातिको अन्त्यको शुरुआत उसको आफ्नै वाई क्रोमोजोमबाट हुन्छ भन्ने थाहा पाएपछि म त्यो अनुसन्धानका हरेक चरणहरुसँग अद्यावधिक हुन थालेँ जसले मलाई यो उपन्यास ’जिगोलो‘ लेख्न लगायो । हालसम्म जेनीको त्यो तथ्यलाई लण्डनस्थित नेशनल इन्ष्टिच्यूट फर मेडिकल रिसर्चका क्रोमोजोम विज्ञ प्रोफेसर रोविन लाबेल ब्याजले मात्रै आंशिक रुपमा स्वीकार र खण्डन गर्दै पुरुषमा भएको वाई क्रोमोजोममा हुने जीन तीन सय लाख वर्षको बीचमा घटेको नभई ५० लाख वर्ष बीचमा घटेको र २ सय ५० लाख वर्षयता चाहिँ स्थिर रहेको बताएका छन् । युनिभर्सिटी कलेज अफ लण्डनका प्रोफेसर क्रिस मेसनले चाहिँ यो तथ्यलाई स्वीकार गर्दै पुरुषको मात्र अन्त्य नहुने भन्दै पुरुष महिलाभन्दा केही वर्ष पहिले अन्त्य हुन सक्ने तर त्यसलाई रोक्ने कुनै अमुक आविष्कार पनि होला भन्ने आशा गरेको समाचारहरु पनि विश्वभरि फैलिए । म ती समाचारसँगै पुरुष जातिको अन्त्य हुन लागेको त्यो समय अर्थात् अबको साढे उनन्पचास लाख वर्षपछि जुन बिक्रम सम्बत् ४९,५२,०७० सालको पुस महिना अनुसार सन् ४९,५२,०१३ को जनवरीमा कस्तो होला भनेर कल्पना गर्छु, ‘संसारभर पुरुषहरु घट्तै गएर एक प्रतिशत जति मात्र ! अनि ९९ प्रतिशत महिलाहरु ! कस्तो होला त्यो समयको समाज, विवाहको संस्था आदि आदि !’
तर नेपाली स्थानीय जडिबुटीमा आधारित वैज्ञानिक उत्पादन र आविष्कारले विश्वमै पुरुष जातिलाई बचाउन र नारी–पुरुषबीच समानअस्तित्व कायम राख्न सक्ने सम्भावनासँगै त्यसबेला पनि पटक पटक परचक्रीहरुसँग मिलेर राष्ट्रघात गर्दै विदेशीलाई स्रोत–संशाधन र सूचना बेच्ने ‘राजनीतिक वेश्यावृत्ति’मा संलग्नहरुभन्दा ‘पुरुषवेश्या’हरुको इमानदारी उपन्यासमा कल्पन पुगेछु म । त्यसैले सोझै भन्दा– देश, पुरुषवेश्याहरुले चलाइरहेका छन् । देश, पटक पटक विभिन्न विचारमा पोइल जानेहरुले गिजोलिरहेका छन् । देश विदेशीका सामु उनीहरुले भन्ने बित्तिकै लम्पसार परेर नाङ्गै सुतिदिनेहरुले कोचलफाँडो बनाएका छन् । ‘पोलिटिकल प्रस्टिच्यूसन’ अर्थात् राजनीतिक वेश्यावृत्तिमा समाज जाकिँदो छ । हो, त्यस्ता ‘राजनीतिक पुरुषवेश्या’ अर्थात् जिगोलोहरुभन्दा शारीरिक जिगोलोहरु बढी इमानदार छन् भन्छ उपन्यास ’जिगोलो‘ले ।
व्यंग्यजसरी सार्वभौमसत्ता ‘सम्पन्न’ भनिने तर अति ‘विपन्न’ शहीदपुत्रले आफ्नी आमा र बैनीको उपचार अनि पढाइ खर्च जुटाउन पुरुषवेश्या बन्नु परेको दर्दनाक कथा हो जिगोलो । हाल पुरुषका लागि महिलावेश्यालय चलेजस्तै महिलाहरुका लागि पुरुषवेश्यालय खुल्ने अनि महिलाले पुरुषलाई दिने यौनपीडाको आगामी समयलाई देखाइएको भविष्यदर्शक नेपाली वैज्ञानिकहरुलाई सम्मान गर्ने राष्ट्रवादी उपन्यास जिगोलोले अबको ५० लाख वर्षसम्म पाठकलाई तानेर लानेछ । त्यसैगरी उपन्यासमा बर्तमानमा पुरुषका तीब्रविरोधीजस्ता देखिए पनि व्यवहारमा पुरुषका तीब्र आकांक्षी तिनै नारीहरु हुन् जो नारी अधिकारका कुरा उठाउँदै पटकपटक अर्काको श्रीमान् खोस्छन्, कान्छी भएर जान्छन्, अनि विचारमा नारीअधिकारविरोधी पुरुषहरुलाई नै रुचाउँछन् भन्ने तीतो तथ्यलाई पनि पात्रहरु मार्फत देखाएको छ भने समावेसीकरणका नाममा अल्पसंख्यककै पक्षमा ज्यान थापेर लडेको ठूलो समुदायलाई अन्य समुदायमा पारेर किनारीकृत गरिएको दुःखलाग्दो पात्रमार्फत कथा उनिएको छ । नेपाली उपन्यासको हालसम्मको मूलधार आमसमूहलाई होइन, व्यक्तिलाई ‘हिरो’ बनाउने धार थियो । तर, ‘जिगोलोमा’ ‘स्वतन्त्र नागरिक समुदाय’ नै ‘हिरो’ छ ।
पुस्तक अंश…
यो तलको अंश उपन्यास जिगोलोको परिच्छेद ३ बाट झिकिएको हो …
‘लिङ्ग छेदन गरेर कुनै समूहले शूर नामक जिगोलोको हत्या गरेको भन्ने समाचारमा कुनै सत्यता छैन।’ फेरि समाचार आयो रेडियो टेलिभिजन पत्रपत्रिका र अनलाइनहरुमा ।
तर, हिजो शूरको लिंग छेदन गरेर शूर नामक जिगोलोको कुनै महिलाहरुको समूहले हत्या गरेको समाचार तिनै टेलिभिजनहरुले सडको बीचमा उसको लास र नजिकै काटिएर फ्याँकिएको लिंग पनि प्रत्यक्ष प्रशारणमा देखाएरै समाचार दिएका थिए । आज फेरि समाचार आइरहेको छ – ‘लिङ्ग छेदन गरेर कुनै समूहले शूर नामक जिगोलोको हत्या गरेको भन्ने समाचारमा कुनै सत्यता छैन।’
छक्क पर्‍यो नोबेल– कसरी सम्भव छ यो ? हिजोसम्म त सबै समाचारहरुले लिंग छेदन गरेर कसैले शूरको हत्या गरेको हो भन्ने समाचार दिइरहेका थिए । आफैँले देखेको पनि हो उसको लिंग काटिएर सडकमा फ्याँकिएको दृश्यसमेत ।
ऊ सर्च गर्न थाल्यो नेट, च्यानल र रेडियो स्टेशनहरु ।
अनि बल्ल बुझ्यो–
प्रहरीले सडकबीचमै मृत अवस्थामा भेटिएको शूरको लास र उसको नजिकै रहेको फेदैदेखि छिनाएर फ्याँकिएको पुरुष जननेन्द्रियको मुचुल्का उठाएका थिए । तर, पोष्ट मार्टम गर्नका लागि सबै कपडा खोलेपछि थाहा भयो उसको लिङ्ग त काटिएकै छैन । एकदमै सग्लो छ । रगतपच्छे अवस्थामा भेटिएको शूरको लाससँगै रहेको त्यो पुरुष लिङ्ग कसको थियो त अब । खोजीको विषय हुन थाल्यो प्रहरीका लागि पनि ।
नोबेलको त झनै टाउको दुखेर आयो ।
प्रहरीको समूहले पनि लासको मुचुल्का तयार गर्दा सामान्य रुपमा वरिपरिको अवस्था टिपेर लास र त्यो लिङ्ग बोकेर हिँडे । घटनास्थलमा जस्तो देखिएको थियो त्यसैको मात्र विवरण उतारे । तर, कपडा खोलेर हेरिरहेनन् । त्यसैका आधारमा समाचार आयो ।
फेरि समाचार आंशिक रुपमा झुठा ठहरियो तर घटनामा भने तथ्यहरु समान छन् । भएको के हो त ? समाचारले सबैको दिमाग रन्थनाएको  छ ।
रन्थिनिएको दिमाग लिएर कतिबेर बस्ने ? नोबेललाई दिक्क लाग्छ । साथीहरुलाई फोन गर्छ ।  मुस्किलले चार जना जति भेटिन्छन् फोनमा । त्यसै पनि गाह्रो छ पुरुषहरुलाई भेट्नका लागि यो संसारमा । उनीहरु जतिबेलै पनि व्यस्त हुन्छन् । फोनमा कुरा गर्न ठिकै हो तर भेटेर नै कुरा त निक्कै कठिन हुन्छ पुरुष–पुरुषका लागि । सबै ‘इङ्गेज’ हुन्छन् । कोही त बन्दी सरह जीवन बिताइरहेका हुन्छन् धनाढ्यहरुको घरभित्रै । प्रेमी र नोकर सँगसँगै एउटै व्यक्तिले भूमिका निर्वाह गरिरहेको हुन्छ । जसरी इतिहासमा एउटा पुरुष आफ्नी श्रीमतीलाई प्रेमिका र नोकर दुवै रुपमा लिन खोजिरहेको हुन्थ्यो । त्यही इतिहास दोहोरिइरहेको छ आज ।
यस बीचमा अधबैँसेसम्म उमेर नभएकाहरु चाहिँ स्वतन्त्र छन् । उनीहरुमध्ये नै चार जना उसको कोठामा आइपुगे– अप्सन, सूर्य, हि म्यान र टोय बोई ।
तर आजको मिटिङ्गमा शूरचाहिँ थिएन ? नोबेललाई थाहा छ तर पनि ऊ अब कहिल्यै उसले फोन उठाउन सक्तैन भन्ने थाहा भएर पनि पटक पटक उसको नम्बर थिच्न मन लाग्छ । उसले निक्कै पटक थिच्यो पनि शूरको नम्बर । उनीहरु शूर बिनाको मिटिङ्ग कहिल्यै बसेका थिएनन् । आज ऊ आउँदैन, थाहा छ । तर पनि फेरि शूरको नम्बरमा डायल ग¥यो नोबेलले फोन तर कानमा राखेर रिङ्ग गएको पनि सुन्ने हिम्मत गरेन । मन–मुटु चिरिएर आयो उसको ।
शूर उनीहरुको समूहको यस्तो एउटा खम्बा थियो जो समूहमा एउटा कामको योजना प्रस्तुत गरिसकेपछि सबैको विचार बुझेर गर्ने हो भने गर्ने हो, नत्र आफैँ एक्लै काम फत्ते गरिसकेर मात्र फेरि भेटेर अनुभव सुनाउने गथ्र्यो । आज ऊ छैन ।
निक्कै लामो समयदेखि उनीहरु सामाजिक परिवर्तन र पुरुषहरुको स्थिति सुधार्नका लागि सचेत भएर लागिरहेका थिए । उनीहरुको मिटिङ्ग भूमिगत नै हुन्थ्यो ।
यो समूहका सदस्यमध्ये अप्सनलाई कुनै पनि कुराले खासै छुँदैनथ्यो । जीवनमा जे आइपर्छ त्यही गर्ने हो, मर्ने हो भन्ने मात्र थियो । तर, जस्तो परिस्थितिमा पनि ऊ भिड् भनेपछि भिड्नका लागि अत्यन्त साहस भएको मान्छे थियो । पठित आमाको पढेलेखेको छोरो थियो ऊ । अप्सनले आफ्नी आमाको बारेमा साथीहरुलाई बताएको थियो– उसकी आमाले आफ्नो लागि बाँधा सरह बनाएर जिगोलो भन्न मिल्ने पति पालेकी थिई । पेसाले ऊ पत्रकार थिई । ऊ पूर्ण स्वतन्त्रता चाहन्थी जीवनमा । पुरुषहरुलाई केवल सन्तान जन्माउनका लागि एउटा माध्यम मात्र ठान्थी । त्योभन्दा बढी बोर भएको बेलामा समय कटाउने साधन ।
त्यसैले उसले आफूसँग पटक पटक बाँधा बनाएर राखेका पुरुषहरुलाई पटक पटक नै परिवर्तन गरेकी थिई । उसका ती उपपतिहरु उसको इच्छा अनुसार जहिलेसम्म बस् भन्यो त्यतिञ्जेलसम्म मात्र बस्न पाउँथे । ऊ बदला लिन चाहन्थी पुरुषहरुको इतिहाससँग । हुन त इतिहाससँग बदला लिइँदैन सुधार गरिन्छ सिद्धान्ततः तर व्यवहारतः त्यो कहिल्यै नहुने रहेछ । वास्तवमा भने इतिहास सधैँ बदलाबाट बढिरह्यो । उसको बदलालाई समर्थन र विरोध गर्ने धेरै कारणहरु सबैसँग हुन सक्थे । तर, हिम्मत कसैसँग थिएन विरोध गर्ने किनकि ऊ उच्च पहुँचवाला व्यक्ति थिई ।
ऊ आफ्नी आमाको बारेमा सुनाइरहेको छ साथीहरुलाई–
एक साँझ एउटा व्यक्ति उसको बाबाको रुपमा आयो आमासँगै । ऊ सानै थियो । उसले अप्सनकी आमा नभएको बेलामा सोध्यो अप्सनलाई– मलाई के भनेर बोलाउनु भन्नुभएको छ तिम्रो आमाले ?
मसँग जवाफ केही पनि हँुदैनथ्यो । मेरी आमाले केही भन्नु भनेर सिकाएको भए पो हुन्थ्यो मसँग जवाफ ।
तर, आमाले हरेक पटक त्यसरी फिर्ता पठाएका मान्छेहरुलाई ऊ हिँडिसकेपछि त्यो ‘जिगोलो’ भन्ने शब्दले गाली गरेको सुन्थ्यो । उसलाई जिगोलो भनेको के हो भन्ने चाहिँ थाहा थिएन । फेरि त्यही मान्छेलाई अरुका अगाडि मेरो ‘श्रीमान्’ भनेर पनि चिनाएको उसले देखेको थियो ।
त्यो प्रश्नको जवाफ केही दिन नजानेर उसले उल्टो प्रश्न गरेछ, ‘अंकल ! श्रीमान् र जिगोलो बीचमा के फरक छ ?’
‘हा ! हा ! हा !’ बिस्तारै हाँसे चार जना । तर, अप्सन भने हाँसेन । बरु उसले भन्यो– त्यो मान्छे त हाँसेन मैले उसलाई मैले यही प्रश्न गर्दा पनि । बरु मेरो प्रश्न सुनेर ऊ त गम्भीर पो भयो । हिजो आज म सम्झन्छु मैले बाल्यकालमै त्यो प्रश्न अबोध रुपमा सोधेको भए पनि त्यस प्रश्नकै पनि ठूलो अर्थ रहेछ ।
ऊ बोलिरह्यो । अरुले पनि अघिको हाँसोमाथि आफैँलाई लज्जाबोध भएजस्तो गरेर अप्सनको कुरा सुनिरहे, ‘हो, के फरक रहेछ र एउटा श्रीमान् वा पति र जिगोलोहरु बीचमा । मैले देखेको छु मेरै घरमा एउटा पतिले त्यतिञ्जेलसम्म मात्र आफ्नो पत्नी भन्न पाउँछ जतिञ्जेलसम्म उसले एउटा जिगोलोले सरह जे भन्यो त्यो मानिरहन्छ ।’
सबै साथीहरु कोठाको एउटा कार्पेटमा छरिएर बसेका छन् । सबै शोकमग्न जस्तो मुद्रामा छन् । तर, नोबेलले खोल्यो मौनता, ‘अनि तिमीले ठूलो भएपछि तिम्रो आमालाई सम्झाउने प्रयत्न गरेनौ त ?’
अप्सनले सुनायो ठूलो भएपछि आमासँग हुने गरेको कुरा पनि जस्ताको तस्तै । उसले भन्यो–
एकदिन मैले आमासँग सोधेँ, ‘आमा ! के हामी सन्तानमाथि हामीलाई नै जन्माउने आफ्नै बाबुको कुनै अधिकार हुँदैन ?’
उहाँले मलाई त उहाँको छोरो होइन कि पूर्वजन्मदेखिकै कुनै दुश्मनजस्तो गरेर व्यहार गर्नुभयो । उहाँले मेरो प्रश्नको जवाफमा सोझै भन्नुभयो, ‘सन्तान त आदिमानवहरुले पनि जन्माउँथे तर उनीहरुलाई थाहा हुँदैनथ्यो कि सन्तान पुरुषको शुक्राणुको कारणले जन्मन्छ । त्यसैले आमाहरुले जन्माएको कारणले आमाको अधिकार हुन्थ्यो सन्तानमा । आदिकालको त्यो अधिकार अझै हामीसँग छ, पुरुषमा होइन । हामीले त्यो शुक्राणु उसलाई हाम्रो सन्तान दिन्छाँै भनेर लिएको होइन ।’
मलाई अति आधुनिक बन्ने होडमा झन् पूराना कुराहरु मात्र गर्ने उहाँको सोच देखेर दया लाग्यो । फेरि मैले उहाँलाई ‘अनि ? के अहिले पनि त्यसै हुन सक्छ र आमा ? यो आदिमानवको समय हो र ?’ भनेर सोधेको प्रश्नको जवाफ पनि फेरि उही इतिहासतिरै फर्केर दिनुभयो,‘हेर अप्सन ! जुन समयमा परिवार र सन्तानमाथि आमाहरुको अधिकार थियो नि त्यसबेला पुरुषहरु के गर्थे, थाहा छ तिमीलाई ?’
मैले आमालाई भनेको थिएँ, ‘जे भए पनि यो युग त्यही युग होइन नि आमा !’
उहाँले भन्नुभयो, ‘सुन, त्यसबेला आमाहरुले सन्तानको लागि सबैथोक गर्थे तर पुरुषहरु आफ्नो मात्र ख्याल गर्थे । बच्चा जन्माउनु महिलाहरुको कमजोरी मानिन्थ्यो । बच्चा कसरी जन्मियो भन्ने पनि उनीहरुलाई थाहा हुन्नथ्यो । तर… ।’
‘तर के आमा ?’
‘तर जब बिस्तारै मानव विकासको क्रममा पुरुषले थाहा पायो कि मेरो शुक्राणुको कारणले बच्चाको जन्म हुँदो रहेछ भन्ने अनि आफ्नो अधिकार कायम राख्न थाल्यो सन्तानमाथि । कविला युगमा त्यसपछि नै परिवार र कविलामाथि स्त्रीको अधिकार समाप्त भयो । महिलाहरुले इतिहासलाई भुल्नु हुन्न हामी महिलाले साह्रै दुःख भोगेका  छौँ । फेरि पुरुषले सन्तानका लागि होइन आफ्नो लागि गरेको हुन्छ सन्तान जन्माउने काम अनि सन्तानका लागि दुःख भने हामी भोग्छौँ ।’ आमाका कुराहरु इतिहासका सत्य थिए । तर, तिनले बर्तमानलाई बिझाउने बाहेक अरु काम गर्दैनन् भनेर मैले फेरि उहाँलाई बुझाउन खोजेँ ‘म इतिहासको होइन बर्तमानको कुरा गर्दैछु आमा ! अब त महिलालाई पनि थाहा पुरुषको शुक्राणु बिना बच्चा जन्मँदैन ।’
आमालाई इतिहासमा पुरुष जातिले महिलामाथि गरेको अत्याचारको लाखौं वर्षपछि पनि बदला लिनु थियो सायद । उहाँले भननुभयो, ‘हेर अप्सन, कैयौँ छोरीहरुलाई जन्मनासाथै खाल्डोमा हालेर पुरिन्थ्यो इतिहासका कुनै युगमा । कयौँलाई छोरी मात्र जन्माई भनेर आमालाई नै ज्यूँदै जलाइन्थ्यो । हामी महिलाले के के सहेनौँ पुरुषहरुबाट अत्याचार ।’
अप्सनलाई आफ्नो कुरा राख्न मुख सुकेर आयो । ‘जति भने पनि आमा सधैँ इतिहासमा फर्कने र पुरुषहरुको विरोधी कुरा मात्र गरिरहने गर्नुहुन्छ । र, बैनीलाई पनि पुरुषविरोधी कुरा मात्र सुनाइ रहनु हुन्छ ।’ ऊ रुन मात्र सकेन आमाकै बारेमा समेत बोल्दाबोल्दै । तर पनि थप्यो उसले –
‘म भन्थेँ आमालाई– पुरुषलाई पनि त सम्पत्ति चाहिन्छ नि । बैनीले चाहिँ घरको पनि पाउने पछि अरु कसैसँग राम्रै घरानामा विवाह भयो भने उसको पनि पाउने । अनि मेरो चाहिँ तपार्इँले पनि खर्च गरेर बचेको मात्र हुने ?’
त्यसपछि त आक्रोसित रुपमा उहाँको तर्क झन् कडा भएर आउँथ्यो–
‘पुरुषलाई जमिनको स्वामित्व प्राप्त भएपछि नै स्त्रीमाथि अधीन जमाउन थालेको थियो । र,  श्रीमतीबाट प्राप्त बच्चामा पनि आफ्नो समान रुपमा हक खोज्न थालेको थियो । पुरुषहरु जतिबेला चाहिन्थे हामीलाई त्यो केवल जंगली युग थियो । त्यतिबेला हामीलाई रुख ढाल्न, छाप्राहरु बनाउन, जंगल फाँड्न बल प्रयोग हुने काममा पुरुष स्थायी रुपमा चाहिन्थे । उनीहरुले जंगल फाँडेर जमीन आफ्नो बनाएका थिए । जमीन आफ्नो बनाएपछि त्यही सम्पत्तिको भरमा हामीलाई पनि बन्दी बनाएर राखेका थिए । अब कुनै पनि काममा बल चाहिँदैन सबै काम मेसिनले गर्छ अनि किन चाहियो महिलालाई स्थायी रुपमा पुरुषहरु ? पुरुषको त्यो बेलाको सम्पत्ति नै थियो जसले महिलालाई बन्दी बनायो । अब त महिलाले सञ्चालन गरिहाल्छन् नि घर परिवार सबै, किन चाहियो सम्पत्ति तिमीहरुलाई ?’
एक पटक मेरो र आमाबीचको यस्तै कुरा सुनिरहेको उहाँको नयाँ उपपतिले बीचमा आएर भनेको थियो आमालाई, ‘तिमी पौरषहीन दुःखी मान्छेलाई प्रेम गर्छर्यौँ ता कि उसले जीवनमा तिम्रो आवश्यकता परिरहेको महसुस गरिरहोस् । त्यसैले तिमी पुरुषहरुमा कुनै पनि अधिकार हुनुहुन्न भन्ने ठान्छौ होइन ? मलाई अप्सनको कुरा ठीक लागेको छ ।’
त्यतिबेला ती उपपति मेरी आमाका लागि अलि नयाँ नयाँ थिए । त्यसैले आमाले खासै प्रतिक्रिया जनाउनु भएन । खाली छोराछोरीका अगाडि हामी यस्ता कुरा नगरौँ भन्दै अर्कोतिर लाग्नु भएको थियो । तर, केही महिनापछि उनी घरबाटै लखेटिएका थिए ।
यस बीचमा एकैछिन् उठेर बाहिर गएको नोबेलले सबै जनाका लागि ससाना बोतलमा केही पिउने चीज र ‘स्न्याक्स’हरु लिएर आयो । बीचमा राख्यो । सबैले केही नबोली एक एकवटा समाए र बिस्तारै सुरुप् सुरुप् पार्न थाले ।
‘अब हामीले उहाँसँग पनि एक पटक कुरा गर्नुपर्छ’ हि म्यानले भन्यो, ‘हामी अब आन्दोलनमा छौँ भनेर भन्नुपर्छ । उहाँको पनि साथ, समर्थन र सहयोग माग्नुपर्छ । मान्नुभएन भने उहाँ पनि हाम्रो लागि … हेर अप्सन ! तिम्रो आमा भए पनि हाम्रो अभियानको विरोधी मानेर जानुपर्छ ।’
‘यसमा कुनै शङ्का छैन ।’ सबैको मतैक्यता भयो ।
नयाँ प्रसङ्गमा जान खोज्यो नोबेलचन्द्र, ‘हि म्यान ! तिम्रो कुरा के छ ? के तिमी यो अभियानमा आफ्नो परिवार भित्रैबाट सहयोग जुटाउन सक्छौ ? ’
हि म्यानको घरमा पनि ऊ एउटा छोरो हो । उसको पनि बाबा को हुन् ? उसलाई थाहा छैन । खोज्ने कुरा पनि भएन, संस्कार र चलन पनि छैन । बाबु खोज्नु भनेको कुनै छोराछोरीका लागि नचाहिने कुरामा ध्यान दिनु र हास्यास्पद विषय हो । अझ भन्ने हो भने समाजको प्रचलन र परम्पराविपरित असभ्य काम हो कसैले आफ्नो बाबुको खोजी गर्नु पनि । यस्तो परम्पराविपरित काम गर्नुलाई सामाजिक अपराध नै मानिन्थ्यो सामान्यतयाः । हि म्यानकी आमाको भने निक्कै अघि निधन भइसकको छ । अब उसको घरमा एक दिदी, एक बैनी र ऊ गरी जम्मा तीनजना सदस्य मात्र छन् ।
हि म्यानका दुवै जना दिदीबैनी समलिंगी सम्बन्धमा छन् । उसको बेलाबेला वादविवाद हुन्छ दिदी बैनीसँग –
‘तिमीहरु किन यो प्रकृतिलाई पनि चुनौति दिने काम गर्छौ ?’
‘एकादेशको कथा भयो अब यो प्रश्न सुन्यौ हि ?’
‘हो, यो एकादेशको प्रश्न भइसकेको मलाई थाहा छ । तर, प्रकृतितः नै यस्तो गुण लिएर जन्मनु एउटा कुरा हो । म त्यसको विरोधमा छैन । तरै पनि संसारलाई नै नियोजित रुपमा समलिंगी बनाउने अभियान नै सञ्चालन गर्नुले मानव समाजमा के लाभ प्राप्त हुन सक्छ र ?’ उसको आपत्ति थियो उनीहरुको अभियानप्रति ।
हुन पनि उसका दिदीबैनी सबै युवतीहरुलाई पुरुषहरु खोजी गर्दै हिँड्नुभन्दा कसरी समलिंगी सम्बन्धबाट पनि सन्तुष्टि प्राप्त गर्न सकिन्छ, पुरुष बिनाको संसारमा पनि कसरी रमाउन सकिन्छ भन्ने कल्याणकारी कार्यक्रमका नाममा अभियान नै सञ्चालन गरिरहेका थिए । उनीहरुको यो कामको सर्वत्र सम्मान र प्रशंसा पनि भएको थियो । उनीहरुले आफ्नो अभियानबाट समाजसेवाको क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको भन्दै धेरै पुरस्कारहरु पनि प्राप्त गरिसकेका थिए । समलिंगी सम्बन्धमा विपरित लिंगीलाई पनि परिबर्तन गर्न महत्वपूर्ण भूमिका खेलेर पुरुषहरुको अहम्लाई नष्ट गर्न सफल भएको भन्दै उनीहरुलाई चारैतिर वाहवाही प्राप्त भएको थियो । उनीहरु एक हिसाबले ठूला समाजसेवीका रुपमा दरिएका थिए । सेलिबे्रटी नै मानिएका थिए सामाजिक सेवाको क्षेत्रमा दुवै दिदीबैनीहरु ।
‘कुनै एक केटी मान्छेलाई समलिंगी सम्बन्धमा रत गराउने तालिम कति धेरै चुनौतिपूर्ण र गाह्रो छ तिमी कल्पनासम्म पनि गर्न सक्तिनौ ब्रो !’ उसका दिदीबैनीको कुरा सुन्दा उसलाई हो भन्ने त लागेकै हो । ‘तर, प्रश्न भनेको कति अप्ठेरो छ भन्ने होइन कि कस्तो समाज बनाउने हो भन्ने पो हो त ।’
उसका दिदीबैनी नै हि म्यानलाई पुरुषहरुकै कारण समलिंगी संसारको कल्पना विद्रोह स्वरुप आएको इतिहास सम्झाउन खोज्थे–
‘सुन हि ! तिमीले पढेकै छौ । कुनै समय जतिबेला पुरुषले संसार हाम्रो मात्र हो भन्ने ठानिरहेको थियो । त्यसबेला पुरुषको आतंकबाट पार पाउने उपाय महिलाहरुका लागि समलिंगी सम्बन्ध नै थियो । तिमीबिना पनि जीवन चल्न सक्छ भन्ने विद्रोहको माध्यम थियो समलिंगी सम्बन्ध ।’ हि म्यानले उनीहरुको कुरामा निधार खुम्च्याएर चिन्ता व्यक्त गरिरहेको छ। तर मुखमा आवाज भने छैन ।
दिदीबैनीले नै भनिरहेका थिए पालैपालो, ‘पुरुष विरुद्धको घृणा पनि थियो समलिंगीपना, सायद तिमीलाई थाहा नै छ हेला । हेर हि ! अब ५० लाख वर्षसम्म आइपुग्दा एक सय जना महिला बराबर एक जना पुरुष समेत पाउन नसक्ने भएपछि त तिमी नै भन त यो महिलाका लागि झन् आवश्यक कुरा भयो कि भएन ?’
हि म्यानले आफूलाई लागेको तथ्य प्रस्तुत गर्‍यो, ‘समलिंगी सम्बन्धकै लागि पनि मान्छे त जन्मनै पर्छ होला नि संसारमा होइन ?’
‘संसारमा मान्छे जन्माउने हामी मात्र छौँ र ? हेर कति प्रतिशतले बढिरहेको छ जनसंख्या । अनि छोराहरु एक प्रतिशतले पनि जन्मन मुस्किल परिरहेको छ । सबै छोरी मात्र जन्मिरहेका छन् ।’ दिदीबैनीका तर्कमा चिन्ता लाग्यो हि म्यानलाई र थप्यो, ‘शारीरिक सम्बन्धका लागि अरु महिला जतिसुकै पाइए पनि ती दुई जनाको मृत्युपछि उत्तराधिकारी पनि चाहिन्छ होला नि होइन ? कि चाहिन्न ?’
‘हेर हि ! त्यही आफ्नो सन्तान मात्र संसारको उत्तराधिकारी हो भन्ने पुरुषको बुझाइले कुरो बिगारेको हो, हालसम्मको असभ्य र अबुझ मानव समाजमा । संसारको उत्तराधिकारी आपूmले जन्माएको सन्तान मात्र होइन, जोसुकैबाट पनि जन्मिएको नयाँ मानव नै उत्तराधिकारी हो ।’ उनीहरुले आफ्नो तर्कलाई जोड दिन खोजे, ‘व्यक्तिगत उत्तराधिकारीका लागि आफैँले जन्माएको सन्तान चाहिन्छ भन्ने सोच नै सबैभन्दा खराब सोच हो । धर्म पुत्र÷पुत्री अपनाउन पनि त सकिन्छ नि । ठूलो संख्यामा यो प्रचलन देखेर पनि तिमी किन बुझ् पचाउँछौ ?’ दिदी–बैनीको लामो कुरा सकियो हिको प्रतिक्रिया पर्खँदै । तर, हि हाँसिरह्यो थप कुरा केही आउला कि भनेर ।
हाँसिरहेको हि बिस्तारै बोल्यो, ‘अब बल्ल टुङ्गोमा आइपुग्यौ तिमीहरु । जे भए पनि अरुले नै जन्माएका सन्तान ‘एडप्ट’ गरे पनि नारी र पुरुष त चाहियो नि होइन र ? अनि तिमीहरुको अभियानको के काम ?’
‘तिमी फेरि कुरा बुझेरै पनि बुझ् पचाउने काम गरिरहेका छौ हि !’ दिदीबैनीले थपे, ‘हामी पुरुषहरुको संसार एक हिसाबले ध्वस्त गरेर यहाँसम्म आइ पुगेका छौँ । फेरि हामीलाई इतिहासको कुनै समयमा बलात्कार गरीगरी हत्या गरेको । जंगली दाह्रा नंग्रा गाड्दै हामीमाथि अत्याचार गरेको कालो इतिहास कसरी बिर्सन सक्छौ र ?’
हि म्यानले केही समाधान सुझाउन खोज्यो, ‘बरु यस्तो भएको भए कस्तो राम्रो हुन्थ्यो है…।’
‘के ? यस्तो भएको भए राम्रो हुन्थ्यो ?’
‘संसारका कतिपय जीवहरु ‘सिंगल प्यारेन्ट’ पनि हुन्छन् जसको अलंैगिक संसेचन हुन्छ र सन्तान पनि जन्मन्छ तर भालेको आवश्यकता पर्दैन । ती प्राणीहरु पनि आखिर आमा नै हुन् । ’
‘हो, बरु अहिले भने ठीक भन्यौ तिमीले ।’
‘सेक्सुअल रिप्रोडक्सन’ मात्र होइन ‘एसेक्सुअल रिप्रोडक्सनको सिस्टम’ पनि छ तिनीहरुमा जस्तो कि अलैंगिक प्रजननको प्रक्रिया भएका ‘आगामाजेनोसिस’ प्राणीमा संसारका ‘कोमोडो’ जातिको छेपारो समेत ३० वटा जीवहरु छन् ।’ हि म्यानले सम्झाएपछि दिदीबैनीले पनि भने, आफ्नो तर्क बलियो बनाउन– ‘फ्लावर पट स्नेक’ भनिने एक जातिको सर्प ‘ब्लाइन्ड ब्राह्मणी स्नेक’लाई प्रजननका लागि भाले जरुरी हुँदैन ।
उसले पनि जवाफ दियोनै भनेपछि भाइले पनि जवाफ दिए
‘तर थाहा छ ? त्यो भाले बिनै जन्मिए पनि केवल संरक्षित क्षेत्र र खासगरी ग्रिन हाउसमा मात्र बाँच्न सक्छ । अनि के भन्छौ तिमीहरु ? संरक्षण गरिदिने त चाहिन्छ नि फेरि अर्को कोही त्यस्तो प्राणीलाई होइन ?’
रिसाए दिदीबैनी हि म्यानसँग र भनिदिए, ‘तिमी त खच्चर हुनु पर्ने । अनि थाहा हुन्थ्यो जसरी घोडा र गधाबाट जन्मिएको शंकर सन्तान भाले खच्चर जति सबै बन्ध्य हुन्छन् । अपवाद स्वरुप मात्र तिनले गर्भाधान गर्छन् नि । हो, त्यस्तै हुनु पर्ने तिमी पनि…।’
हि म्यानले आफ्नो परिवारमा समलिंगी दिदीबैनीसँगको कुराकानीहरु सुनाउँदासुनाउँदै आफैँ दिक्क भयो र केही भन्नै छोड्यो ।
अरु सबै साथीहरुले कुरा बुझे अब हि म्यानलाई धेरै बोल्न लगाउनु ठीक हुँदैन । त्यसैले सूर्यले आफ्नो कुरा राख्न खोज्यो, आफ्नो कथा सुनाउँदै–
मलाई महिलाहरुले आफ्नै अङ्गहरुको अनादर गरेको एकदमै मन पर्दैन । हो, उनीहरुलाई समस्या पनि छ । संसारमा हरेकजसो महिलालाई एक जना पनि लोग्ने मान्छे भागमा पर्दैनन् । एक दिनको जुनीमा यौन आनन्दको अनुभव नै राम्रोसँग नपाइकन मर्नु पर्ने स्थिति वास्तवमै राम्रो होइन । तर, पनि उनीहरुले पुरुषहरु अगाडि आउने बित्तिकै आफ्ना शरीरका अङ्गको नै मानहानी हुने गरी प्रस्तुत हुनु कतिसम्म नराम्रो कुरा हो ।
सूर्यका कुराहरु महिलावादी नै हुन् कि जस्तो लाग्थ्यो, ‘समाजका धनाढ्य महिलाहरुले अनेकौं उपपतिहरु राखेका छन् । उनीहरु स्वास्थ्यप्रति सचेत छन् र कमै मात्र म भएको ठाउँमा आउँछन् ।’
सूर्यले ‘म भएको ठाउँमा’ भनेर वेश्यालयमा भन्न खोजेको हो भनने अरु साथीहरुले बुझ्न कुनै मेहनत गरिरहनु पर्दैन । अनि, वेश्यालय भनेको पनि महिलाहरुका लागि सरकारले स्थापना गरेको पुरुष वेश्यालय हो भन्ने पनि समाजमा जानकारी नै छ । कुनै समयका इतिहासमा पुरुषका लागि वैध रुपमा नै खोलिएका महिला वेश्यालयहरुजस्ता अहिले महिलाका लागि पुरुष वेश्यालयहरु सरकारले नै वैध रुपमा खोलेको छ । विभिन्न देशका मन्त्री, सचिवहरु आउँदा पनि यो देशका पुरुष वेश्यालयहरुमा नपसी फर्कँदैनन् । त्यसैगरी यो देशका मन्त्री सचिव, अधिकारकर्मी सबै अरु देशमा पुग्दा पनि ती देशका त्यस्ता पुरुष वेश्यालयहरु पुग्ने गर्छन् । कोही निरीक्षणका लागि जान्छन् । कोही आफ्नै कामका लागि धाउँछन्। अरु देशका वेश्यालयहरुको निरीक्षण गरेर आफ्नो देशमा कस्तो व्यवस्था गर्ने भन्ने बारेमा नेताहरुले छलफल र निर्णय गर्छन् । हो, त्यस्तै एउटा वेश्यालयमा सूर्य ‘पार्ट टाइम’ काम गर्ने गर्छ ।
तर सरकारी अनुमति बिना पनि गोप्य र गैरकानुनी ढङ्गले पुरुष वेश्यालयहरु धनाढ्य, व्यापारी र तस्कर महिलाहरुले सञ्चालन गर्ने गरेका छन् । त्यस खालका वेश्यालय पनि कतिपय पुरुषहरुलाई बाँधा बनाएर यातनासहित सञ्चालनमा छन् भने कतिपय पुरुषहरु स्वेच्छाले सरकारी वेश्यालयमा भन्दा पनि बढी पैसा पाइन्छ भनेर निजी वेश्यालयहरुमा आफैँ संलग्न हुने गरेका छन् ।
महिलाहरुले पुरुषको संख्या नगण्य भएकोले र बाहिरी सम्पर्कमा एकदमै महङ्गो पनि हुन थालेकोले पुरुष वेश्यालयको माग सरकारसँग गरेका थिए । त्यसरी माग गर्नेहरु मध्ये सबैभन्दा अग्रपङ्क्तिमा अधिकारवादी महिलाहरु नै थिए । उनीहरुमध्ये स्वास्थ्यको ख्याल गर्नेहरु र स्वास्थ्यका लागि पूर्ण रुपमा भरपर्दो वेश्यालय महिलाका लागि हुनु पर्ने उनीहरुको माग भएपछि त्यस्ता वेश्यालय खुलेका थिए । तर, समाजमा गोप्य रुपमा त्यस्तो काम सयौँ वर्षदेखि हुँदै आएको थियो, जसले कर तिर्दैनथे । आर्थिक अगुवाहरुले पनि त्यसलाई करको दायरामा ल्याउनु पर्ने माग त राखेकै थिए । त्यो राष्ट्रिय दीगो अर्थतन्त्रका लागि सकारात्मक कुरा मानेको थियो सरकारले पनि । सूर्य भने गैरकानुनी काम नगरुँ बरु राज्यले कर पाओस् आफ्नो पनि अलिअलि भए पनि कमाइ होस् भन्ने सोच भएको मान्छे हो । त्यसैले ऊ पार्ट टाइम जबको रुपमा वेश्यालयमा गएर सेवा दिने गर्छ ।
ऊ कतिपय उच्च घरानीया महिलाहरुको अर्धभूमिगत रखौटो पनि हो । तर पनि ऊ महिलाहरुलाई बिस्तारै बिस्तारै प्राकृतिक रुपमा आफूसम्म आइपुगेको हेर्न मन पराउँथ्यो । उसले सोचेजस्तो हुन्नथ्यो । महिलाहरु ऊ भएको ठाउँमा पैसा तिरेर आइसकेपछि शुरुमै सर्वाङ्ग बन्थे । ऊ भने बिस्तारै काममा लीन हुन खोज्थ्यो । कतिलाई हतार हुन्थ्यो । उनीहरु आफ्नो काममा हतारमा पुग्नका लागि सबै काम केही बेरमै सकेर फर्किहाल्न खोज्थे । उसलाई त्यसरी गरेको काम भैँसीको गोबरको थाप्रोसँग खेल्नुजस्तै लाग्थ्यो । उसले कतिपय महिलाहरुसँग आफ्नो दुःखका कुराहरु सुनाउन खोज्थ्यो । धेरैसँग मायाका कुरा पनि गर्न चाहन्थ्यो । तर, ती सब कुरा हास्यास्पद थिए उसका लागि । ऊ त्यो कुरा गर्न लायक ठानिँदैनथ्यो केवल ड्युटी पूरा गर्नु थियो उसले । उसले पढेको थियो इतिहासका कुनै पानामा कुनै समय महिलाका लागि यस्तै थियो । उनीहरु केवल भोग्या थिए । आज ऊ केवल भोग्य बनेको छ । केवल भोग्य । उसको काम केवल सेवा दिनु हो ।
एक पटक सरकारमा रहेकी एक उच्चपदस्थ सुरक्षा अधिकारी ऊकहाँ आइपुगेकी थिई । उसले सुनायो साथीहरु माझ –
‘वा….ओ ! ह्वाट एन एथलेटिक बडी !’ ऊ भित्र पस्दापस्दै चिच्याएकी थिई सूर्यलाई देखेर ।
ऊ आपूmमाथि झ्याम्ल्याङ्ग हाम फाल्दा उसलाई एक खालको पीडा भएको थियो किनकि ऊसको थकानको आज कुनै सीमा थिएन ।
‘म अलि थाकेको छु । त्यसैले बिस्तारै है… ।’ उसको अनुरोधलाई खासै ध्यान दिइन उसले बरु थपी, ‘यो पो लाइफ त, क्या मोज छ तिमीलाई सरकारले वेश्यालय खुला गरिदिएपछि है !’
‘पैसा भनेको राम्रै कुरा हो तर त्यति सजिलो छैन यो पेशामा ।’ सूर्यले जवाफ फर्कायो, आफ्नो शरीरका अङ्गप्रत्यङ्ग तन्काएर पड्काउँदै, ‘तिमीलेजस्तो कसैको काम गरिदिँदा पनि पैसा आउने र नगरिदिँदा पनि पैसा आउने होइन यो पेसामा । तिमीलाई त अपराधी पक्रँदा पनि पैसा छोड्दा पनि पैसा आउँछ नि तर थाहा छ हामीले कति मेहनत गर्नुपर्छ ?’
त्यो महिला सुरक्षा अधिकारी रिसाई आफूलाई तिमी भनेकोमा– तिमी को हौ मलाई तिमी भन्ने ?
‘हो, म नै हुँ तिमीलाई तिमी भन्ने । जो झुकेर यहाँ म भएको ठाउँसम्म आइपुग्छ्यौ । होइन र ?’
‘म झुकेर आएको होइन यो नर्कमा ।’ उसले भनी, ‘तिमीहरु मध्ये को को अवैध रुपमा कर छल्नलाई गोप्य होटलहरुमा जान्छौ भन्ने बुझ्नलाई आएकी हुँ । बुझ्यौ ?’
‘हा ! हा ! बुझेँ । यो नर्क नै यस्तो गरिमामय ठाउँ हो जहाँ समाजका सबै भद्र महिलाहरु आइपुग्छन् र बाहिर गएर सच्चरित्रताको कुरा गर्छन् ।’
सूर्यको कुरामा अत्यन्त नमीठोसँग नाक, मुख, आँखा सबै एकै पटक खुम्च्याएर मन अमिलो बनाई उसले र भनी ‘चुप्, छिटो बाथरुम गएर आइज ।
उसले भन्यो ‘म सफा छु । केहीबेर अघि मात्र ‘कमन बाथ’ लिएको तिमीभन्दा पनि माथिकी झन् ठूली हाकीमसँग ।’
ऊ चुपचाप आफ्नो कपडा खोल्दै थिई अर्कोतिर फर्किएर ।
सूर्यले फेरि आगोमा घीऊ थप्यो, ‘हामीलाई त फेरि तिमीजस्तो रिसाएर पनि हुन्न । सधैँ हँसमुख रहेन भने जागिरबाटै हट्नुपर्छ । फेरि के गर्ने रिसाएर ! रिसाउने त तिमीहरुले हो ।’
उसले बताई, ‘म सोझै फाइट गरेर पुलिस इन्स्पेक्टरबाट जागिर खान शुरु गरेको एक वर्षमै बढुवा हुँदै अहिले एसएसपीसम्म भइसकेकी छु । तिमी पनि जागिर खान्छौ ? म लगाइ दिन्छु ।’
‘तिमी त सैनिक श्रीमती संघको ठूलै पदमा छ्यौ नि होइन र ? अस्ति समाचारमा पनि पढेको थिएँ । त्यहाँबाट पनि पैसा आउँदो रहेछ ।’ सूर्यले भन्यो ।
‘हो, नि त्यसैको सोर्सले त म सोझै जागिरमा लागेर यति छिटो छिटो बढुवा हुँदै एसएसपीसम्म भइसकेँ । त्यसैले एसएसपी मुर्मु भनेर सबैले चिन्छन् मलाई । तिमी पनि जागिर खाने हो कि भनेर सोधेकी मैले ।’
तर, सूर्यले अर्कै प्रसङ्ग जोड्यो एक्कासी एसएसपी मुर्मुको दिमाग तातिने गरी, ‘इतिहासको कुनै कालखण्डमा पुरुषहरु मात्र सैनिक अधिकृत हुने युगमा खोलिएका सैनिक अधिकृत श्रीमती संघ, प्रहरी, परिवार महिला संघ, न्यायाधीश श्रीमतीसंघहरु अहिलेसम्म किन चाहिए होलान् ? यी त पुरुषवादी संस्था होइनन् र ? जो आपूm अरुका श्रीमती भएर गर्व गर्दै संस्था खोल्ने युगका थिए ?
‘तँ वेश्या, तँ जिगोलो । तेरो यत्रो हिम्मत ?’ ऊ कड्किई मात्रै । जवाफ भने केही पनि दिइन ।
सूर्य चुपै लागेर बसिरह्यो ।
तर उसले बसिरहन मात्र पाएन ।
उसले भनी, ‘यहाँ मेरो पूरै शरीर मालिस गर् ।’ उसले उत्तानो परेर सुतिसकेकी एसएसपी मुर्मुको खुट्टा थिच्न थाल्यो ।
‘हातले होइन ।’ मुर्मुलाई आनन्द आएन ।
‘अनि के ले त ?’ सूर्यले सोध्यो ।
‘जिब्रोले पूरै शरीरमा सबैतिर ।’ पाशविक आदेश दिई उसले ।
सूर्य यन्त्रवत् आफ्नो काममा खटियो ।
उसको जिब्रोको उल्टोतर्फको भागमा तलको दाँतले घोटिएर घाउ भइसकेको छ । थुक दानी नै भरिएको छ उसको नजिकमा । यसो थुक्यो । रगत आयो ।
एसएसपी मुर्मुले देखोस् भन्ने गरी थुकेको थियो उसले तर उसले वास्तै गरिन ।
अनि ऊ रोकियो आफँै ।
एकछिन् पछि घुरेर सूर्यलाई हेर्दै कानको दुवैतिर टाउकाको केशमा हात घुसार्दै अनुहारमा अनुहार जोडी । र, बोली– महिलाको लागि कति धेरै महत्वपूर्ण छौ तिमीहरु तर के गर्नु तिमीहरु सामाजिक हुनै सकेनौ । तिमीहरु सभ्य र स्वतन्त्र पनि हुन सकेनौ ।
‘आखिर हामीलाई कसले बनायो यस्तो ?’
‘तिमीहरु आफैँले ।’
‘कसरी हामी आफैले ? के हाम्रो रहर भन्ने बुझेकी छ्यौ तिमीले यसलाई ?’
‘म त्यसको जवाफ दिन्छु तिमीलाई तर तिमीले मलाई तिमी भनेको फेरि पनि चित्त बुझेको छैन । मलाई बाहिर कसैले पनि तिमी भन्ने आँट गर्दैन । ’
‘त्यसैले त तिमी बाहिर होइन, यहाँ छ्यौ । मसँग छ्यौ । अनि, मलाई तिमीलाई ‘तिमी’ भन्दा मैले जितेको जस्तो लाग्छ । कम्तीमा यति कुरामा तिमीलाई जित्न चाहन्छु । म यो काठाभित्र पनि त्यतिसम्म पनि स्वतन्त्र छैन र ?’ सूर्यको कुरा विद्रोह होइन कि पीडाबोधजस्तो पनि लाग्थ्यो ।
आफूप्रतिको हिनताभास मुर्मुले आडम्बरमा प्रस्तुत गरिन्, ‘हो, तिमीहरु अब हामी महिलाहरुका नोकर हौ । त्यसैले तिम्रो स्वतन्त्रता छैन । नोकरहरुको स्वतन्त्रता हुँदैन ।’
‘तिमी विवेकहीन महिलाहरु ! छिः’ सूर्यले आफ्नै अँध्यारो अनुहारमा पनि प्रकाश पार्न पार्न सकेन ।
‘विवेकहीन हामी होइन तिमी पुरुषहरु हौ ।’ फेरि मुर्मुले थपिन् ।
‘कसरी भन्न सक्छौ तिमी ?’ सूर्यलाई कारण वा प्रमाण चाहियो ।
मुर्मुको गम्भीर तर्क आयो, ‘पहिलो प्रमाण यही हो कि संसारमा यदि महिलाहरु तिमी पुरुषहरुजस्तो एकदमै कम जन्मिएर लोप हुन लागेका हुन्थे भने र पुरुषहरु चाहिँ हामी महिलाजस्तो यति धेरै हुन्थे भने आपसमै युद्ध गरेर मर्ने थिए सायद । तर हामीले तिमीहरुलाई जबरजस्ती वेश्यालयमा राखेर अनि आपसमा बाँडेर भए पनि एक आपसमा युद्ध गरेका छैनौँ । ’
‘तर पुरुषहरुकै पनि त हत्या गरेका छौ नि समूहमा पटक पटक शोषण गरेर तिमीहरुले । हिजोअस्तिदेखि नै आइरहेका समाचारहरु चाहिँ के हुन् नि ?’ म अब रेस्ट गर्न चाहन्छु भन्दै सूर्य फर्कियो अर्कोतिर ।
सूर्यको यो कुराले एसएसपी मुर्मुको उत्तेजना बढाइदिएजस्तो पो भएछ । उसले त सूर्यलाई जतासुकै टोक्न थाली । चिथोर्न थाली । नङ्ग्रा गाड्न थाली । सूर्यको केश पनि एसएसपी मुर्मुकोे हातैमा आयो अलिकति उखेलिएर । ऊ आँखा चिम्लिएर दाह्रा किटिरहेको छ ।
उसले आफूसँग केही पनि गर्न नचाहेको सूर्यसँग फेरि शरीर टँस्साई पूरै लगेर, अङ्ग–अङ्ग दलिदिई । सबैतिर रगडिदिई तर पनि सूर्यले आँखा खोलेन ।
अब एसएसपी मुर्मु एउटी झाँक्रीजस्तै देखिई उसको केश पनि फिँजारिएको छ । शरीर पूरै कामेको छ । दाह्रा किटेकी छे । आँखा राता राता देखिएका छन् । एउटा भोकाएको बाघले लडिरहेको मृगलाई आफ्नै अघि देखेको छ तर खान सक्ने अवस्था छैन– त्यस्तै लाग्छ एसएसपी मुर्मुआँखा अघि लडिरहेको सूर्यलाई देख्दा । मुर्मुरिएकी छे एसएसपी मुर्मु । उसले ‘आ…’ गरेर ठाडो घाँटी लगाएर कराइ मात्र एकछिन् । अनि रिभल्वर निकाली नजिकै राखेको कपडाबाट । कानको छेवैमा लगेर पड्काई सूर्यको । सूर्यलाई मरेजस्तो लागेको थियो आपूm । तर, केही भएको रहेनछ । बन्दुकको गोलीको आवाज सुनेर उसको कोठामा चारैतिरबाट ढोका खोलेर सबै स्टाफहरु आइपुग्दा त एसएसपी मुर्मु पो विक्षिप्तजस्तो बनेर ढलिरहेकी थिई । अस्पताल लगियो उसलाई । पत्रिकामा समाचार आए घटनाबारे । तर, दोष दिइयो सूर्यलाई, ‘उसले एसएसपी मुर्मुको हत्या षडयन्त्र गरेको थियो ।’
सूर्यको होस खुलेको बेला भने ऊ आफ्नो कानमा एसएसपी मुर्मुको आवाज मात्र गुञ्जिरहेको सुनिरहेको थियो, ‘मलाई निदाइरहेका र निष्क्रिय रुपमा सुतिरहेका पुरुषहरुसँग घृणा छ । ल मलाई मारिदे यही रिभल्वर चलाएर…।’
‘त्यसो हो भने आफ्नो कुण्ठा आफैँसँग पोखेर सूर्यको झन्डै पो हत्या गरिछे त एसएसपी मुर्मुले ।’ सञ्चार माध्यमहरुले सूर्यको कुरा सुनिसकेपछि उल्लेख गरे ।
अहिले ती एसएसपी मुर्मुको पक्षमा स्वयम् सरकार, समाजको महिला तप्का, पत्रकारहरु कोही पनि बोल्दैन । उसको नै चरित्र खराब हो भन्न थालेका छन् । उसलाई अचम्म लागेको छ– म वेश्यालय गएको सही हो । सबै जान्छन् तर पत्ता लागेपछि किन सबैले छिछि र दुरदुर गर्छन् यसरी ? म यत्तिकै बसेको भए पागल भइसक्ने थिएँ । म त स्वस्थ नै छु अहिलेसम्म । यसमा त यही समाज रमाएको थियो नि । म यतिको उमेरसम्म पनि बिना कुनै सम्बन्ध मानसिक रुपमा स्वस्थ रहन सकेको थिएँ पागल कल्पना किन गर्छन् मान्छेहरु ? मेरो स्वस्थ जीवनको कारण पनि यही नै हो भने फेरि म यतिका वर्षदेखि मानसिक रुपमा स्वस्थ र शारीरिक रुपमा स्पूmर्त रहेको कारण पत्ता लागेपछि चाहिँ मलाई छिछि दुरदुर गर्नु पर्ने अर्को कारण के हो ? उनी त्यो प्रश्नको खोजी गर्न हिजो आज अब जागिरबाटै राजीनामा दिने विचारमा पुगेको पनि बताउन थालेकी छिन् सूर्यसँगैको गोप्य भेटहरुमा । तर सूर्यले पत्याउन गाह्रो मानिरहेको छ ।
सूर्यले आफ्नो कुरा सुनाएपछि फेरि नोबेलले अर्को जुक्ति निकाल्यो, ‘हेर सूर्य ! त्यो एसएसपी मुर्मुको कुरा सही हुन पनि सक्छ । त्यसो हो भने हाम्रो अभियानमा जागिरै छोडेर आउने मान्छेहरु पनि धेरै हुन सक्छन् । महिलाहरुले बोल्न मात्र नसकिरहेका हुन सक्छन् । हामीलाई र हाम्रो अभियानलाई साथ दिनेहरु बढ्दै गएपछि यसले सफलता पाउँछ । अब उसको बिचार राम्रोसँग बुझेर हाम्रो अभियानमा लिनुपर्छ ।’
अब आफ्नो कुरा सुनाउन बाँकी थियो टोय बोइले । नोबेलले ऊतिर हेर्दै भन्यो, ‘तिम्रो कुरा के छ ! के भयो तिम्रो जागिर खोज्ने कुरा ? ’
टोय बोइले शुरुमै दुखेसो पोख्यो, ‘ दाइ ! मेरो नाम नै सबैले टोय बोइ बनाएर बिगारि दे !’
‘नाममा के छ यार ! , छोडिदेऊ त्यो कुरा ’ ढाढस् दिँदै भन्यो नोबेलले—के भयो जागिर ?
‘के हुनु दाइ ! जसले पनि शोषणै मात्र गर्छन् ।’
उसले सुनायो– दाइ ! जब म गएँ नि त्यो नेता जसले मलाई बोलाएकी थिई आमसभापछि भिजिटिङ्ग कार्ड दिँदै । त्यो त कस्ती मान्छे भने पार्टी कार्यालयमा पनि होइन रे, मन्त्रालयमा पनि होइन रे,  घरमा पनि दिउँसो होइन रे, साँझमा मात्र जानु रे ।
म गएँ । उसले त मलाई सोझै भनी हामी केही दिनका लागि यो शहरभन्दा बाहिर जाऔँ अनि मात्र हुनसक्छ कामको कुरा । मैले कुरा बुझेकै थिएँ । त्यसैले म अरु काममा छु ,जान पाउँदिनँ भनिदिएँ ।
उसले सोझै के भनी, थाहा छ दाइ तपार्इँलाई ?
‘के भनी र ?’
‘लिङ्गलाई दिमागतिर फर्काएर मात्र पैसा कमाइँदैन रे । जागिर खान त तिमीसँग जे छ त्यसलाई प्रयोग गर्नु प¥यो नि भनी ।’ आफूभन्दा कयौँ दशक बूढी महिलाले त्यसो भनेपछि आफूलाई तनाव भएको बताउँदै ऊ त्यहाँबाट हिँड्ने बेलामा आफूलाई भनेको कुरा सम्झन्छ ।
समूहमा आफ्ना समस्या सुनाउँदै गर्नुपर्छ नोबेलले भन्यो, ‘कहिलेकाहीँ तनावहरु पनि सफलताको निम्ता दिन आएका हुन्छन् रे । तिमी तनावमा मात्र बसिरह्यौ भने तनाव झन् बढ्ने छ ।’
नोबेलले निष्कर्ष दियो– उसले एक हिसाबले ठीकै भनी हेर । साथीहरु हामी पनि अब तनाव लिएर मात्र बस्ने होइन । वेश्यालयभित्र ज्यादती छ । प्राइभेट वेश्यालयमा त झन् पुरुषहरु धेरै संख्यामा मारिएका छन् । बन्दी हालतमा राखिएका छन् कैयौँ पुरुषहरु । आम्दानी त्यसका सञ्चालक महिलाहरुले खाएका छन् र पुरुषहरु खासगरी साना बालकहरुमाथि अत्याचार भएको छ । हामीले अघि जति पनि मान्छेहरुका बारेमा कुरा गरेका छौँ सम्भावना रहे जति सबैलाई उनीहरुलाई हाम्रो अभियानमा सहभागी गराएर देशभरिबाट हाम्रो अधिकारको लागि आवाज उठाउन शुरु गर्नुपर्छ ।
अरु साथीहरुले नोबेललाई पनि सुझाव दिए– हाम्रो समूहमा महिलाहरुसँग टक्कर लिन सक्ने तपार्इँ नै हो दाइ ! त्यसैले तपार्इँले बिमा, माबी, सेवा निवृत्त न्यायाधीशहरु सबैसँग प्रत्यक्ष परोक्ष वार्ता गर्नुपर्छ र एकाकार भएर अघि बढ्नुपर्छ ।
उसले पनि ती सुझावहरुमा सहमति जनायो । आपूmले सबैसँग बेग्लाबेग्लै कुरा गर्छु भन्ने बचन पनि साथीहरुलाई दियो । सबै छुट्टिए । आआफ्नो बाटो लागे । नोबेलले बाहिर निस्कँदै गरेका सबैसँग हात मिलायो र भित्र पस्यो । फेरि अघि हेरिरहेको टेलिभिजन च्यानल हेर्न मन लाग्यो । अन ग¥यो । उसैगरी आइरहेको थियो लाइभ समाचार … । निक्कै दिनदेखि त्यही समाचार चलिरहेछ सबै सञ्चारमाध्यममा । एक हप्ता हुन लागिसक्यो पटक पटक तिनै दृश्यहरु र तिनै सन्दर्भहरु । बेला बेला नयाँ तथ्यहरु पत्ता जोडिन्छन् पूरानै समाचारहरुमा । दर्शकका लागि पनि रुची सकिन सकिन लागेको बेला फेरि नयाँ तथ्य पत्ता लाग्छन् । फेरि हेर्नै पर्ने बाध्यता हुन्छ । खासै धेरै नयाँ कुराहरु केही पनि पत्ता लागेका हुँदैनन् । एउटा नितान्त नयाँ कुरा थपिन्छ । सबै छक्क पर्नेगरी तर प्रमाण केही हुँदैन । घटनाको चुरोसम्म पुग्नै लागेको प्रहरीहरुले बताएको जानकारीका साथ समाचार सकिन्छ ।
हो, यसैबीच एउटा अचम्मको सन्दर्भ आएर जोडिन्छ समाचारमा ‘परराष्ट्र मन्त्रीको हत्या !’ जहाँ नोबेलको पनि सोझो सम्बन्ध छ ! नोबेललाई एकदमै हेर्न मन थियो समाचार तर समय नै छैन ऊ फेरि अब अदालत जानु छ । समाचार भरे अदालतबाट फर्किएर हेरौँला । पहिला तारिक महत्वपूर्ण भयो । ऊ निस्किहाल्यो टेलिभिजन बन्द गरेर । नोबेल निस्कन्छ मुखबाट आवाज निकाल्दै, ‘वास्तवमा जेनीले ठीकै भनेकी थिइन् ।’ फर्केर आएपछि पक्कै थाहा हुन्छ यो परराष्ट्र मन्त्रीको हत्याको समाचार बारेमा… ।

No comments:

Post a Comment