नेपाल यु-१९ एलिटकप क्रिकेटको सेमिफाइनलमा
बहराइन १ सय ९६ रनले पराजित, कर्णको कीर्तिमानी
२३ बैशाख, मलेसियामा जारी एसीसी अन्डर १९ एलिटकप क्रिकेटमा नेपालले लगातार तेस्रो जित दर्ता गरेको छ । सोमवार मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा भएको खेलमा नेपालले बहराईनलाई १ सय ९६ रनले पराजित गरेको हो । लगातार तेस्रो जितसंगै नेपाल सेमिफाइनल प्रवेश गरेको छ । 
नेपालले दिएको २ सय ६० रनको विजयी लक्ष्यका साथ मैदान उत्रिएको बहराईनले २१ आभेरमा सबै विकेट गुमाउँदै मात्रै ६३ रन जोड्यो । नेपाली बलरसामू निरिह सावित भएका बहाराईनका लागि अक्षय कृष्णले नटआउट २२ तथा लालिथ लालले १७ रन जोड्नु बाहेक अन्य ब्याट्स म्यान खासै चल्न सकेनन् । बहराइनका पाँच व्याट्स म्यान खाता नै नखोलि पेभिलियन फर्केका थिए ।
बहराईनलाई सस्तैमा समेट्न नेपालका लागि अभिनाश कर्णले ८, तथा कप्तान कार्की र राहुल प्रताव सिंहले समान एक-एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ५९ रन जोडेको थियो । नेपालका लागि कप्तान भूवन कार्कीले ८३ रनको योगदान दिए । उनले ६३ बलको सामना गर्दै तीन छक्का र आठ चौका प्रहार गरेका हुन् । यसैगरी बिबत्सु थापाले ४४, निर्मल थापाले २५, अमित श्रेष्ठले २२ तथा निश्चल पाण्डेले १६ रन जोडे । यस्तै पवन श्रेष्ठले १३ तथा हरिशंकर शाहले १० रनको योगदान दिएका थिए ।
यसअघिका दुई खेलमा नेपालले कुवेतलाई ८४ रनले र कतारलाई ९ विकेटले पराजित गरेको थियो ।
कर्णको कीर्तिमानी
बहराइनविरुद्धको खेलमा अविनाश कर्णले ८ विकेट लिए । योसंगै कर्ण अन्डर १९ क्रिकेट टोलीमा अन्तर्राष्ट्रिय खेलमा हृयाट्रिक गर्ने पहिलो बलर बनेका छन् । कर्णले तेस्रो ओभरका अन्तिम तीन बलमा लगातार ३ विकेट झारेका थिए । यसअघि शक्ति गौचनले गत वर्ष दुवईमा भएको ट्वान्टी-ट्वान्टी विश्वकप छनौट क्रिकेटमा डेनमार्कविरुद्धको खेलमा शक्ति गौचनले हृयाट्रिक गरेका थिए । गौचन अन्तर्राष्ट्रिय क्रिकेटमा हृयाट्रिक गर्ने पहिलो नेपाली खेलाडी हुन् ।
No comments:
Post a Comment