Tuesday, May 21, 2013


विकिमिडिया नेपाल गठन

 सूचना प्रविधि, भाषा, सञ्चार, पत्रकारितालगायतका क्षेत्रमा कार्यरत व्यक्तिहरूको आज सम्पन्न भेलाले गणेश पौडेलको अध्यक्षतामा विकिमिडिया नेपाल गठन गरेको छ। नौ सदस्यीय सो कार्यसमितिको उपाध्यक्षमा हेमपाल श्रेष्ठ, महासचिव सरोजकुमार ढकाल, कोषाध्यक्ष प्रोमिशा मिश्र र सदस्यहरूमा इन्दिबर बडाल, कृष दुलाल, निर्मल दुलाल, सृजना तिम्सिना र महालक्ष्मी सिलवाल रहनुभएको छ।
विकिपिडिया सबैले सम्पादन गर्न सक्ने र जोसुकैले निःशुल्क प्रयोग गर्न सक्ने खुला ज्ञानको विश्वकोश हो । सन् २००१ मा अमेरिकामा जिम्मी वेल्स र ल्यारी स्यान्गरले सुरू गरेको विकिपिडिया नेपाली भाषामा सन् २००२ मा सुरू भएको थियो । यसले आउँदो जेठ २१ गते आफ्नो ११औँ जन्मोत्सव मनाउँदैछ।
नवगठित समितिमा सूचना प्रविधि, भाषा, सञ्चार, पत्रकारिता आदि क्षेत्रका विकिमिडियनहरू रहेका छन् ।विकिमिडिया नेपालले विकिमिडिया फाउन्डेसनसँग आबद्धताका लागि आवेदन गरिसकेको छ । विकिमिडियाले विकिपिडियालगायत त्यससँग सम्बद्व परियोजनाहरूको अभिवृद्धि र विकासमा सहयोग गर्ने गर्दछ। सो संस्थाका अध्यक्ष गणेश पौडेलका अनुसार नेपाली, नेवारी, भोजपुरी, पाली र संस्कृत गरी नेपालभित्र बोलिने विभित्र पाँच भाषामा विकिपिडियाले आफ्नो सेवा दिइरहेको छ। त्यस्तै मैथिली, तामाङ, थारू, लिम्बू, गुरूङ, अवधि, शेर्पा र लेप्चा गरी ८ विभित्र नेपाली भाषामा पनि सेवा दिने क्रममा रहेको छ। हाल विश्वका २८५ भाषामा विकिपिडिया उपलब्ध छ।
नेपाली भाषाको विकिपिडियामा हाल विभित्र विषयका २३ हजारभन्दा बढी लेख छन् । यसमा १२ हजार नेपाली प्रयोगकर्ताले योगदान गरेका छन् भने सरदर ८० जना सक्रिय रहने गरेका छन्। विकिपिडिया बाहेक नेपालीमा विकी खुला शब्दकोश (विक्सनरी) र (विकी पुस्तक खुला पुस्तक) पनि सञ्चालनमा रहेका छन्। विकिपिडिया विश्वको सबैभन्दा धेरै हेरिने वेबसाइटमध्ये पाँचौं स्थानमा आउँछ। जुनसुकै विषयको जानकारी पस्किनका लागि यो वेबसाइट सबैभन्दा ठूलो सन्दर्भ सामग्री हो।

No comments:

Post a Comment