७ जेठ, भक्तपुर ताथली सौडोलका २२ वर्षीय दीपेन्द्र छुकांले गएको चैत मसान्तमा घरको छिँडीमा पासो लगाए भने सुडाल ४ की ४५ वर्षीया गमला कार्कीले पनि वैशाखको पहिलो साता झुन्डिएर आत्महत्या गरिन् । दुवैको आत्महत्या भएको प्रहरीले जनायो । प्रहरीका अनुसार कार्कीका श्रीमान् लागू औषधको दुव्र्यसनी भएको र कान्छी श्रीमतीका साथ सिन्धुपाल्चोक बस्न थालेका कारण उनले आफ्नै घरको कोठामा नाइलनको डोरीको पासो लगाई आत्महत्या गरेकी थिइन् । दीपेन्द्रको आत्महत्याका सम्बन्धमा भने प्रहरीले खास कारण फेला पार्न सकेन ।
महानगरीय प्रहरी परिसर भक्तपुरले जिल्लामा आत्महत्या गर्नेको संख्या बढेको जनाएको छ । परिसरका अनुसार गत आर्थिक वर्षमा मात्र ३० जनाले झुन्डिएर आत्महत्या गरेका थिए । यस वर्ष साउनदेखि चैत्रसम्ममा ३२ जनाले झुन्डिएर आत्महत्या गरिसकेका छन् । यस वर्ष सबैभन्दा बढी आत्महत्या पुसमा र सबैभन्दा कम मंसिरमा भएको देखिएको छ । परिसरका अनुसार पुसमा ७ वटा र मंसिरमा १ वटा आत्महत्या भएको छ ।
यस वर्ष तुलनात्मक रूपमा विष सेवन गर्नेको संख्या घटेको छ । गत वर्ष विष सेवनबाट २६ जनाको ज्यान गएकामा यस आर्थिक वर्षको चैत्रसम्ममा १३ जनाको विष सेवनबाट मृत्यु भएको छ । गत वर्ष एक जनाले औजार प्रयोग गरी आत्महत्या गरेका थिए भने दुई जनाले आत्मदाह गरेका थिए । यस वर्ष हामफालेर एकजनाको ज्यान गएको परिसरले जनाएको छ ।
प्रहरी उपरीक्षक दीलिपकुमार चौधरीले आत्महत्या गर्दाको प्रकृति फरक–फरक भएको बताए । ‘विविध कारणले आत्महत्या गर्ने देखिएका छन्’, उपरीक्षक चौधरीले भने– ‘प्रेममा धोका पाउनु, घरमा बाबुआमाले इच्छा पूरा नगरिदिनु, घरायसी झै–झगडाले आवेशमा आउनुलाई कारणका रूपमा लिन सकिन्छ ।’ उनले भने– ‘आर्थिक कारोबारसँग जोडिएको ढुकुटीका कारणले पनि आत्महत्या गरेको देखिन्छ ।’ उनका अनुसार पछिल्लो समयमा ढुकुटी खेल्नेको संख्या बढ्दै गएसँगै आत्महत्या गर्नेहरूको संख्या पनि बढ्दै गएको छ । ढुकुटी खेल्दाखेल्दै कसैको पैसा फस्ने र कसैले ढुकुटी किस्ता तिर्न नसक्ने अवस्था आएपछि घरपरिवारले थाहापाउने डरले पनि आत्महत्या बढेको उनको धारणा छ ।
सामाजिक परिवेश र लोकलाज मात्र नभएर वैदेशिक रोजगार पनि आत्महत्याको कारकको रूपमा विकास भएको चौधरीले बताए । उनको अनुभवमा श्रीमान्ले विदेशबाट पठाएको रकमले श्रीमती मोजमस्तीमा लाग्ने गरेको र सो कुराको जानकारी श्रीमान्ले पाएपछि विदेशबाट र्फकेका पतिपत्नीबीच झगडा बढ्दो छ । सोही परिणामका कारण श्रीमान्ले समेत आत्महत्या गर्न पुगको घटना भक्तपुरमा देखिएको उनको भनाइ छ ।
भक्तपुर अस्पतालका मनोचिकित्सक डा. सुलभराज उप्रेती भने आत्महत्याको मुख्य कारण डिप्रेसन भएको बताउँछन् ।
No comments:
Post a Comment