जिउँदा शहीदको कथा-ब्यथा -आनन्दराम पौडेल
धेरैपटक भेटेर कर गरेपछि बल्ल सुनिता भण्डारी (दाहाल) बोल्न तैयार भइन्। “हाम्रो दु:खका कथा मेडियाले जति प्रसार गरेपनि, एकपल्ट सानो प्रभाव परेको बाहेक, त्यस्को असर रत्तिभर परेको छैन। यहाँ कसैलाइ भनेर पनि केही हुँदैन भन्ने निस्कर्षमा पुगिसक्यौं। त्यसैले, बोल्ने इच्छा नभएको हो। लौ भन्नुहोस्, के सोध्न चाहनुहुन्छ ?”, सुनिताले भनिन्।
“तपाईंहरुमाथि परेको दु:ख सुनें, आफैंले देखेंपनि। तपाईंको आफ्नै मुखबाट तपाईंहरुको सङ्घर्ष र दु:खको कथा-व्यथा सुन्ने चाहना भयो र आएको हुँ।” लेखक कन्हैयाले भने।
“मैले भन्ने भनेको मेरो मात्र नभएर मेरो परिवारको कथा हो। त्यस्मापनि विशेषगरी मेरा पति सीपी दाहालजीको दुर्दान्त दु:ख, पीडा र सङ्घर्षको कथा हो।”
“मैले भन्ने भनेको मेरो मात्र नभएर मेरो परिवारको कथा हो। त्यस्मापनि विशेषगरी मेरा पति सीपी दाहालजीको दुर्दान्त दु:ख, पीडा र सङ्घर्षको कथा हो।”
सुनिताले एकपल्ट लेखकको मुहार पढ्न खोजिन्। लेखकको आँखामा गहीरो उत्सुकता छचल्किरहेको पाइन्। कथाको पोको बिस्तारै फुकाइन्, “मपनि जनयुद्धकालमै माओवादी पार्टीमा लागेको हुँ, तर सीपीजीले जति सङ्कट मैले ब्यहोरिन। जनयुद्धकालमा सीपीजी निकै चर्चित हुनुहुन्थ्यो। सीपीजीको निष्ठा, सौर्य, साहस, सकृयता तथा उहाँले जनयुद्धलाइ गरेको योगदानको बिषयमा चर्चा चलिरहन्थ्यो। सहयोद्धाहरु वीच भैरहेका चर्चा-परिचर्चाले म उहाँप्रति आकर्षित भएको थिएँ। आक्कलझुक्कल पाइने भेटको अवसरलाइ अधिकतम सदुपयोग गर्न थालें। पछि पार्टीले नै पहल गरेर हामी दुईको बिवाह गराइदियो।”
एकैछिनमा चिया पकाएर ल्याउँछु भन्दै कोठाको एउटा कुनामा रहेको स्टोभ बालिन्। पानी बसालिन्। दुध, चिनी र चियापत्ति हालिन्। चिया उमालिन् र दुइटा ग्लासमा खन्याएर एउटा लेखकलाइ दिइन्। चिया सुरुप्प तानिन्। र, एक नजर लेखकतिर फालेर जीवनकथाको शिलशीला अघि बढाइन्, “दु:ख, कष्ट र अभावले भरिएको घरमा २०३६ सालमा सीपीजीको जन्म भएको रहेछ। उहाँको आमा बोल्न नसक्ने बहिरी हुनुहुँदोरहेछ। २०४४ सालमा बिरीङको बाढीले झापा, राजगढको घर-जग्गा बगाएपछि उहाँको परिवार सुनसरीको सिंगियामा बसाईं सरेछ। दम रोगले गर्दा २०४८ सालमा बुबा बित्नुभएछ। २०५५ सालदेखि अनेरास्वबियु (क्रान्तिकारी)मा सक्रिय हुनुभएछ। त्यसपछि ज्यान फालेर जनयुद्धमा होमिनुभयो।”
सुनिताले चियाको अन्तिम घुट्को सिरिप्प तानिन्। लेखकलाइ सरसरी नियालिन्। र,बाँकि जीवनकथा बयान गर्न थालिन्, “निडर भएकोले उहाँलाइ जहिले पनि युद्धको अग्रमोर्चामा राखिन्थ्यो। २०५८ साल फागुन ८ गते चाँदबेलामा प्रतिकार समितिसँग भिडन्त हुँदा सेनाले हानेको गोलि लागेर ढल्नुभएछ। ढलेका सीपीजीलाइ सेनाले धुस्नु पारेर कुटेछ। म-यो भनेर नहरमा मिल्काइदिएछ। ५ घण्टापछि पुगेको पुलिसले सीपीजीमा धुकधुकी सास रहेको पाएछ, र वीपी अस्पताल धरान पु-याएछ। दुई महिनापछि ०५९\०१\१७ गतेका दिन होस आएछ। होस खुलेपछि पार्टीलाइ लगातार पाँचओटा पत्र पटाउनुभएछ। डाँक्टर नभएको मौका पारी पुलिसले झापड हान्दै अस्पतालमै बयान गराउँदोरहेछ। अस्पतालबाट डिस्चार्ज गरेपछि पुलिसले अड्डासार गर्दै इप्रका धरान, फुस्रे ब्यारेक, पूर्वी पृतना इटहरी, जिप्रका सुनसरी र अन्तमा इप्रका दुहबी पु-याएको रहेछ। ९ महिनापछि युद्धबिराम भएछ, र सीपीजीलाइ तारेखमा छाडेछ।”
बाहिर खेलिरहेकी छोरीलाइ बोलाइन्। खाजा खान दिइन्। पुन आफ्नै स्थानमा आएर बसिन् र शिलशीला अघि बढाइन्, “युद्धविराम भङ्ग भएको थोरै समयपछि २०६०\१२\०४ गते भरौल गाविसको पिडारीबाट सीपीजी पुन पक्डाउ पर्नुभएछ। सेनाले एक सातासम्म चर्को यातना दिएर कारागार चलान गरेछ। झापा धरमपुर घर भएका, भाइनाइके धर्म बुढाथोकीहरुको हैकम सहन नसकेर उहाँहरुले कारागार भित्रै विद्रोह गर्नुभएछ। जेलभित्रै चर्को दमन भएछ। कवि सुवेदीजीको परिवारले हालेको रीटमा उहाँको नामपनि परेको हुँदा जेलमुक्त हुन पाउनुभएछ।”
चलिरहेको गाडीमा एक्कासि ब्रेक लागेजस्तैगरी बोल्दाबोल्दैकी सुनिताजी एक्कासि रोकिनुभयो। लेखकले उहाँको मुखतिर हे-यो। प्रसवबेदना जस्तै उहाँको अनुहार कच्याककुचुक भयो। गाँठो परेको पीडा ओकल्न गाह्रो परेको प्रष्टै देखिन्थ्यो। लामो सास तानेर सूई…य गर्नुभयो। र, बेदना पोख्नथाल्नुभयो, “युद्धकालभरी यातना, दु:ख, सङ्घर्ष सबै थिए, तर पार्टीभित्रैबाट उपेक्षा, पक्षपात र अपमानको पीडा थिएन। लोकतन्त्र आएपछि असुरक्षा र यातना छैन। तर, उपेक्षा, पक्षपात र अपमानको पीडा झन् गहीरो हुँदोरहेछ। भित्रभित्रै भत्भति पोल्दोरहेछ।”
सुनिताजीलाइ मुख्य पीडाको गाँठो फुकाउन गाह्रो परेको प्रष्टै देखिन्थ्यो। उहाँ उठ्नुभयो, र ‘बाहिर आउनुहोस् त’ भनेर लेखकलाइ पनि बाहिर ल्याउनुभयो। आँगनको डिलबाट ‘ऊ..त्यता हेर्नुहोस् त’ भनेर एकातिर औंल्याउँदै भन्नुभयो, “इटहरी नगरपालिका अगाडी ऊ…त्यहाँ गणेश बुढाथोकीजीको होटल छ। त्यहाँ सीपीजी भाँडा माझिरहनुभएको छ। त्यही होटलको अगाडी देखिएको गगनचुम्बी भवन चैते माओवादीको हो। लोकतन्त्र आउनुभन्दा अघि त्यो चैतेको सामान्य हैसियतपनि थिएन। हिजो जनयुद्धकालका सुराकीहरुले अहिले पार्टी कव्जा गरेका छन्। मुक्ति रिजाल जस्ता चैतेहरु अहिले हामीलाइ देखिसहँदैनन्। देखाउनको लागि सीपीजीलाइ जिल्ला कमिटीमा राखेका छौं भन्छन्, तर बैठककमा कहिल्यै बोलाउँदैनन्। यिनै चैतेहरु हाम्रो विरुद्ध नाना षडयन्त्र गर्छन्। हाम्रै विरुद्ध नानाभाँती भन्दै हिंड्छन्। हामीलाइ उल्टै ‘सिआइडी, जासुस, गुप्तचर’ भनेर प्रचार गर्छन। कसरी सहनु…?”
बोल्दाबोल्दै सुनिताजीको कण्ठ अवरुद्ध भयो। घुँक्क-घुँक्क रुन थाल्नुभयो। पछ्यौरीले मुख छोपेर दौडँदै कोठाभित्र पस्नुभयो। लेखक कन्हैयाजी अकमक्क परे। बिस्तारै कोठाको ढोकासम्म पुगे। सुनिताजी सिरानीमा मुख गाडेर रोईरहनुभएको रहेछ। अढाई बर्षकी छोरी ट्वाल्ल परेर हेरिरहेकी थिइन्। कन्हैयाजी एकछिन किंकर्तव्यबिमुढ हुनुभयो। अलमलकै वीच उहाँ बिस्तारै फर्कनुभयो।
No comments:
Post a Comment