Monday, May 6, 2013


बर्दियामा बाँदर आतङ्कले स्थानीय हैरान

 २३ वैशाख।महोत्तरी  जिल्लाको उत्तरी क्षेत्रका किसान बाँदर आतङ्कले हैरान भएका छन्। जिल्लाको माईस्थान वन क्षेत्रसँग जोडिएका हात्तीलेट, रामनगर, माईस्थान र बेलगाछी गाविसका किसान पछिल्ला केही दिनदेखि बाली नोक्सान गर्ने बाँदरको आतङ्कबाट हैरान भएका हुन्।
यसअघि वन क्षेत्रका बाँदर गाउँघर नपस्ने भएपनि अहिले केही दिनदेखि हुलका हुल बाँदर घरघर पसेर हैरान पारेका ती गाविस बस्तीका किसानको गुनासो छ। बाँदरले खेतबारीको बालीमात्र नभई घरआँगनका थाङ्ग्रामा राखिएको मकैसमेत झारेर नोक्सान पार्ने गरेको हात्तीलेट–९ की महिला किसान अनारवती देवीले गुनासो गर्नुभयो।
पछिल्ला १५ दिनदेखि बढेको बाँदर आतङ्कले सबैभन्दा बढी नोक्सान उखु र मकैबालीमा गरेको किसानले बताएका छन्। बाँदरले खेतबारीका खान हुने भएका मात्र नभई उखु र मकैका बोटसमेत उखेलेर सोतर बनाउने गरेको रामनगर चिनीमिल टोलका किसान गणेशी महतोको भनाइ छ।
अहिले बाँदरको हुल रामनगरस्थित चिनीमिल भित्रै पसेर क्रसिङ्ग गर्न राखिएको उखु खान पल्केका मिलका कामदारले बताएका छन्। बाँदरको सयौँको सङ्ख्यामा आउने हुलले मिलको मसिनमा टाँसिएको उखुको रस चाट्नसमेत नछोडेका कामदार जमील अख्तरको भनाइ छ। पछिल्ला दिनमा बढेको बाँदर आतङ्कले महिला र साना नानीहरुलाई खेतबारीमा जानसमेत समस्या भएको छ। बाली नोक्सान गरिरहेका बाँदरलाई हाहु गरेर लघार्न खोज्दा आफैँमाथि झम्टिने गरेको बेलगाछीकी महिला किसान सानुमाया ल्हायोले बताउनुभयो ।
यता जीवजन्तु तथा वातावरणक्षेत्रमा काम गरिरहेका विज्ञहरुले वनमा आहारा नभएपछि बाँदर गाउँ पस्न लागेको बताएका छन्। वन क्षेत्र वरिपरिकै बासिन्दाले चाँडै घाँस उमार्न भन्दै वन क्षेत्रमा डढेलो लगाउने क्रम बढेपछि बाँदर आश्रय र खानाको खोजीमा गाउँ पस्न थालेको वातावरण क्षेत्रमा काम गर्दै आउनुभएका जिल्लाकै भङ्गाहा–९ राजपुरका मुरारी ढुङ्गानाले बताउनुभयो।
डढेलो लगाउँदा घाँस उम्रन्छ भन्ने भ्रम त्यागेर वन संरक्षणमा ध्यान दिइयो भने जङ्गली जीवजन्तुको गाउँ आगमन नियन्त्रण हुनाका साथै डढेलोबाट हुने प्राकृतिक सम्पदाको क्षतिसमेत रोक्न सकिने वातावरण क्षेत्रमा कार्यरत सामाजिक संस्था जन जागृति समाज पर्सापतैली महोत्तरीकी अध्यक्ष नायडू नेपालीले बताउनुभयो। यता वन क्षेत्र वरिपरिका किसान भने बाँदर आतङ्क नियन्त्रण गर्न वन विभाग र सुरक्षा निकायमा हारगुहार गरिरहेका छन्।

No comments:

Post a Comment