सन् १९९० मा स्थापना भई दुई दशक पार गरेको नेपाली समाज युएईले गत ३ मे शुक्रबारका दिन दुबईको एभरेष्ट होटलमा ऐतिहासिक निर्वाचन सम्पन्न गरेको छ । नेपाली समाज निर्वाचन समितिले गरेको निर्वाचनमा अध्यक्षको पदमा ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएको छ । पूरानो कार्यसमितिको २ बर्षे कार्यकाल पूरा भई आगामी २ बर्षे कार्यकाल २०१३ देखि २०१५ सम्मको लागि निर्वाचन गरेको हो ।
दुई चरणमा बिभाजित गरिएको निर्वाचन भेलामा पहिलो चरण औपचारिक भेलाको अध्यक्षता नेपाली समाज तदर्थ समितिका अध्यक्ष राजु गुरूङले गरेका थिए भने संचालन भरत राना मगरले गरेका थिए । त्यस्तैगरी, दोस्रो चरणको अध्यक्षता नेपाली समाज निर्वाचन समितिका संयोजक गोपाल कंडेलले गरेका थिए । विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, समाजसेवी, बुद्धिजीवि, आजीवन सदस्य र पत्रकारहरू अतिथि रहेको निर्वाचन भेलालाई उत्तम अधिकारीले सञ्चालन गरेका थिए ।
अध्यक्ष १ जना, उपाध्यक्ष ३ जना, कोषाध्यक्ष १ जना र महासचिव १ जना गरि जम्मा ६ पदको लागि ७ जना उम्मेदवारहरूले नाम दर्ता गरेता पनि अध्यक्ष पदको लागि ज्ञानेन्द्रबहादुर कार्की र विदुर रावत दई जनामध्य विदुर रावतले आफ्नो उम्मेदवारी फिर्ता लिएको थियो । ६ जना उम्मेदवारहरूमध्ये कुनै प्रतिस्पर्धा नभएको कारण सबै पद निर्विरोध निर्वाचित भएका छन् । जसमा क्रमशः अध्यक्षमा ज्ञानेन्द्रबहादुर कार्की, उपाध्यक्षमा चन्द्रविक्रम सारू, भिम अधिकारी र भेषराज ढकाल, कोषाध्यक्षमा गणेश न्यौपाने र महासचिवमा उमाकान्त पाण्डे (गाउँले) निर्वाचित भएका छन् ।
युएईस्थित संचालनमा रहेका विभिन्न नेपाली संघ संस्थाहरूले विगतमा भन्दा यसपाली धेरै कम्ति नेपाली समाजमा प्रतिनिधित्व गरेको थियो । जम्मा ८ वटा संघ संस्थाहरूले मात्र पार्षद पठाएको थियो भने ६२ जना आजीवन सदस्यहरू रहेका छन् । लगभग ८५ वटा नेपाली संघ संस्थाहरू क्रियाशील रहेको अवस्थामा जम्मा ८ संघ संस्थाहरुले मात्र नेतृत्व गर्नु भनेको एउटा दुःखदको बिषय हो ।
नयाँ कार्यसमितिका लागि ६ जना निर्वाचित भएका उम्मेदवारहरूमध्ये अध्यक्ष ज्ञानेन्द्रबहादुर कार्की विश्व महासंगठनबाट प्रतिनिधित्व गरि आएका थिए भने अन्य ५ जनामा उपाध्यक्ष चन्द्रविक्रम सारू मगर अर्घाखाँची सम्पर्क समिति युएई, उपाध्यक्ष भेषराज ढकाल सर्वदा वाङ्मय प्रतिष्ठान युएई, उपाध्यक्ष भिम अधिकारी धादिङ वेल्फेयर युएई, कोषाध्यक्ष गणेश न्यौपाने चितवन सेवा समाज युएई र महासचिव उमाकान्त पाण्डे (गाउँले) अर्घाखाँची सम्पर्क समिति युएईबाट प्रतिनिधित्व गरेर आएका छन् ।
अन्त्यमा वरिष्ठ समाजसेवी चन्द्रप्रसाद सापकोटा, पूर्वअध्यक्ष कृष्ण ढकाल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले नवनिर्वाचित सबै पदाधिकारीहरुलाई शुभकामना दिएका थिए । राजु गुरुङले सम्पूर्ण संघ संस्थाहरु र उपस्थित सबैलाई धन्यबाद दिएका थिए । त्यस्तैगरी, गोपाल कंडेलले निर्वाचनको लागि सहयोग पुर्याउने सम्पूर्ण सहयोगीहरुलाई धन्यबाद दिदै नेपाली समाज निर्वाचन समिति विगठन भएको घोषणा समेत गरेका थिए ।
No comments:
Post a Comment