Tuesday, May 21, 2013


आईपीएलमा आजबाट प्लेअफ, चेन्नई र मुम्बई भिड्दै

 ७ जेठ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगितामा आजबाट प्लेअफ सुरु हुँदैछ । जारी छैटौं संस्करणको पहिलो प्लेअफमा लिग तालिकाको शीर्ष स्थानमा रहन सफल चेन्नई सुपर किंग्स र दोस्रो स्थानको मुम्बई इन्डियन्स आमुने–सामुने हुँदैछन् ।
दिल्लीको कोटाला मैदानमा हुने खेल नेपाली समय अनुसार राति सवा ८ बजेपछिबाट सुरु हुनेछ । आजको खेलमा विजयी हुने टोलीले फाइनलमा स्थान बनाउने छ भने पराजित हुने टोलीले अर्को प्लेअफको विजेतासँग पुनः प्रतिस्पर्धा गर्न पाउनेछ ।
बुधबार यही मैदानमा तेस्रो स्थानको राजस्थान रोयल्स र चौंथो स्थानमा रहेको सनराईजर्स हैदरावादबीच ‘एलिमिनेटर’ भिडन्त हुनेछ । आईपीएलको फाइनलमा पुग्ने दोस्रो टोलीको फैसला भने मे २४ तारिखका दिन हुने छ । उक्त दिन कोलकोताको इडेन गार्डेन मैदानमा पहिलो प्लेअफ अर्थात् आज पराजित हुने टोली र बुधबारको खेल जित्ने टोलीबीचको खेलपछि फाइनल भिडन्त तय हुनेछ ।
आईपीएलको जारी सिजनको फाइनल मे २६ तारिखका दिन इडेन गार्डेन मैदानमा हुनेछ । यसपटक आईपीएलमा जम्मा ९ टोली सहभागी थिए ।

No comments:

Post a Comment