लुटेराको खोजी जारी, घाईतेको अबस्था गम्भिर
१६ बैंशाख ।
पोखराको न्यूरोडमा दिनदहाडै गोली प्रहार गरी रकम लुटेर भागेका ३ जना अझै पक्राउ पर्न सकेका छैनन् । हिजो दिउसो ४ बजे यति डेभलपमेण्ट बैंकका कर्मचारी भगवान बरालमाथि गोली प्रहार गरी ३१ लाख ४२ हजार लुटेर भागेका तीन जनाको पहिचान खुल्न सकेको छैन ।
लुटेरा समुहको खोजी भैरहेको प्रहरीले बताएको छ । मेगा बचत तथा ऋण सहकारी संस्थाबाट दैनिक बचत रकम लिएर बाहिरिने क्रममा सहकारीकै हाताभित्र बरालमाथि सो समुहले गोली प्रहार गरी लुटपाट गरेको थियो । रकम लिनको लागि बराल संगै आएको सुरक्षा गार्ड गोबिन्द बहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । थापाका अनुसार उनलाई नियन्त्रणमा लिएर बरालमाथि सो समुहले गोली चलाएको थियो ।
कन्चटमा गोली लागेका कास्कीको पुम्दीभुम्दी– ४ का बरालको पोखराको मणीपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । उनको अबस्था निकै गम्भिर रहेको अस्पतालले जनाएको छ । रकम लुटेर फरार भएका तीनै जनाको खोजीको लागि पोखराका सबै क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ । पोखराका सबै नाका शिल गरी खोजी तिब्र पारिएको प्रहरी उपरिक्षक बसन्त कुमार लामाले बताए ।
घटनाको प्रकृति हेर्दा सबै जानकारी सहित पेशेवार लुटेराले रकम लुटेको प्रहरीको अनुमान छ । सहकारीबाट बैंकका कर्मचारीले रकम निकाल्ने समय, भाग्ने बैंकल्पिक स्थानको पहिचान जस्ता कारणले पूर्ब तयारीको साथ लुटपाट भएको हुन सक्ने आशंका गरिएको छ ।
घटनास्थलबाट प्रहरीले एक थान ९ एम एम को पेस्तोलमा लाग्ने गोली र खोका बरामद गरेको छ । ब्यबपारिक रुपमा निकै ब्यस्त र मानिसहरुको बाक्लो चहल हुने क्षेत्रमा दिउसै लुटपाट भएपछि पोखराका सुरक्षा चुनौति बढेको बिष्लेशण गरिएको छ ।
No comments:
Post a Comment